Sunday, March 21, 2021

गिलास

 


कोठा छ
कोठाको एक छेउमा टेबल छ
टेबलमा आधा भरेर छोडेको गिलास छ
त्यहाँ एउटा बुज्रुक उभिएको छ
रिसले मुर्मुरिँदै, फलाक्दै
यो खाली गिलास यहाँ कसले छोड्यो !
यो आधा पानीको के काम !
यसलाई कसले भर्छ !
यसरी राख्दा राख्दै सुक्यो भने ?
कीरा पर्‍यो भने ?
खान नमिल्ने भयो भने ?
कसैले खाएर हैजा लाग्यो भने ?
हस्पिटल जानु पर्ने भयो भने ?
हस्पिटलमा बस्‍नु पर्ने भयो भने ?
ओखती र भिटामिन केले किन्ने होला !
अनि हस्पिटल बस्दा
खानपिन मिल्दैन
सुताइ मिल्दैन
टेन्सन हुन्छ
टेन्सनले ब्लडप्रेसर बढ्यो भने ?
हार्ट अट्याक भयो भने ?
ब्रेन ह्यामरेज भयो भने ?
अनि यसरी टिक्रिक्‍क राखेर छोडेको गिलास
घोप्‍टियो भने ?
गुडकिएर तल खस्यो भने ?
सिसा फुटेर छरियो भने ?
कसैको खुट्टामा चोट लाग्यो भने ?
घाउ पाक्यो भने ?
घाउ निको भएन भने ?
निको नभएर क्यान्सर भयो भने ?
खुट्टा काट्नु पर्‍यो भने ?
बैसाखीको भरमा बाँच्‍नु पर्‍यो भने ?
भिख माग्दै हिँड्नु पर्‍यो भने ? 

फलाक्दा फलाक्दै रिसको झोँकमा
ऊ बहिरो भएको छ
अन्धो भएको छ,
छेवैमा कसैले खोलेर छोडेको धारा छ
धाराबाट निरन्तर खेर जाँदैछ पानी
गिलास चूपचाप खडा छ टेबलमा
शायद सोच्दैछ
अब पक्‍कै केही हुन्छ यो घरमा !

No comments: