म मौलाइरहेको बेला
कोशी बौलाइरहेको थियो,
मेरो घरमा जन्म हुँदैथियो
उता सयौं मान्छे मर्दै थिए,
म प्रकृतिको नियम
या भाग्यको खेल भनेर
आफ्नो सुरमा मस्त थिएँ
र थातबास जोड्न तल्लिन थिएँ,
उता बस्तीहरूलाई पानीले निल्दैथियो
नयाँबर्षको नजिकै
मेरो मौलाएको परिवारले कोशी वारपार ग-यो
कोशौं फैलेको मरुभूमी पार गर्दै,
बालुवामा फ्याँकिएका जिन्दगीहरू
सुनाउँदै थिए कथा मेरो देशको,
त्यो कथा उड्दैथियो आँधिमा
विवश घरका छानाहरूसँगै,
अनि बालुवामा उम्रिएको सन्त्रास
क्रोध बन्दै, फेरि एक पटक
सडकमा पोखिने तरखरमा थियो
म सोच्दै थिएँ--
जब जिन्दगी नै जुगौं पछाडि
अनायस धकेलिएपछि
मेरो देशमा नयाँबर्ष कसरी आउला ?
No comments:
Post a Comment