हरूवा
लुसुक्क भागेर एउटा
लडाइँबाट,
पछिका
सबै लडाइँ जित्छु भनी
फूर्ति
जसले लाउँछ,
त्यसले माखो पनि मार्दैन ।
अस्तित्व
आफ्नो
अस्तित्ववोध गराउन,
स्याल,
मध्यरातमा
हल्ला गर्छ
अरूलाई
जगाउँछ, तर्साउँछ ।
चढ्नेहरू
शुरूमा
चढ्नेहरू
आफैँ
भर्याङ्ग लगाएर
चूपचाप
चढ्छन्
त्यसपछि
चढ्नेहरू
आ-आफ्नै
तालले चढ्छन्
कोही
खाली भर्याङ्गमा चढ्छन्
कोही
भिडभाडमा चढ्छन्,
कोही
एक्लै चढ्छन्
कोही
जमात लिएर चढ्छन्
कोही
नियम बनाएर चढ्छन्
कोही
नियम मानेर चढ्छन्
कोही
कोही नियम मिचेर चढ्छन्
कोही
माथि हुनेका खुट्टा समाएर चढ्छन्
धेरै
जसो तिनका खुट्टा तानेरै चढ्छन्
कोही
कोही तलकालाई लात हानेरै चढ्छन्
खुट्टा
तानेर चढेकालाई
आफूलाई
पनि कसैले तान्ला भन्ने डर हुन्छ
माथिकाले
बजारेर लात हान्ला भन्ने ख्याल हुँदैन ।
चढ्ने
चढिरहन्छन्
आ-आफ्नै
तालले
भर्याङ्ग
मकिँदै जान्छ
मर्मत
गर्ने महापुरूष
पटक पटक
जन्मदैन ।
2 comments:
धेरै राम्रो लाग्यो यो रचना । यो लाईन एक दमै राम्रो 'कोही माथि हुनेका खुट्टा समाएर चढ्छन्
धेरै जसो तिनका खुट्टा तानेरै चढ्छन्'
मनमा लेख्नेकुरा धेरै छ .... यहि कवितामा थपौँ-थपौँ जस्तो लाग्यो, तर डर लाग्यो, कविताको शोभा बिग्रिन्छ भनेर । सरको प्रस्तुति अत्यन्तै मिठो र गहन छ । मै हुँ भन्नेहरूलाई एकपटक यो पढाएर उनीहरूको आत्मबिज्ञापनीय अस्तित्वको बोध गराउन सकिन्छ ।
Post a Comment