Wednesday, April 09, 2014

Facebook Fragments IV

लेनदेन

उनीहरू आए
हामीकहाँ
सपना माग्न
हामीले दियौँ
हाम्रा सपनाहरू
फटाफट

उनीहरू फेरि आए
हाम्रा सपना फिर्ता गर्न
जस्ताको तस्तै
जत्तिको तत्ति
हामीले पनि लियौँ
फटाफट

अन्याय

ओरालो लागेको मृगलाई
बाछोले खेद्छ
बाख्रोले गिज्याउँछ
बिरालोले तर्साउँछ
ब्वाँसोले झम्टिन्छ
बाघले सिध्याउँछ 


हौवा

आफूलाई ऐनामा हेर्न डराउनेहरू 
दुनियाँको रङ्ग बदल्ने हौवा पिट्छन् 

धुर्त्याइँ

धुर्तको धुर्त्याइँ 
उसले नलेखेको शब्द
र ननिकालेको आवाजमा 
पढ्न र सुन्न पाइन्छ 

जीवनचरण

ब्रम्हचर्य: भोक मात्र लागिरहने
गृहस्थ: भोक लागेको थाहै नहुने
वानप्रस्थ: भोक लागिहाले पनि के गर्ने !
सन्यास: शोक न सुर्ता भोक न भकारी 

बाँसुरी र डम्फु

गाह्रो हुन्छ
बाँसुरीको धुन निकाल्न,
अनि भाका टिप्न ।

डम्फु त
ठोक्दिनु पर्छ
बजिहाल्छ
ड्वाङ्ग ड्वाङ्ग !

एक प्रश्न

रूख नै सुकेर गएपछि
गुँड छोडेर उडेका चरी
झरेर सडेका फल
मकाएर भाँचिएका हाँगाबिँगा
यी सबैलाई सम्झेर
किन टाउको दुखाउने ?

कविता

भलायो जस्तै
हुँदो रहेछ कविता
कसैलाई फाप्ने
कसैलाई नफाप्ने ।
 


हद


समयसँग उडान लिए पनि
पखेटा खिइन सक्छ 
कुनै एकदिन  
 

No comments: