Friday, February 12, 2016

हजुरामा प्रति



म सँगै थिईनँ, सधैं जस्तै,
कर्मले उछिट्याएर टाढा पुगेको बेला
तिम्रो वाक्य बसेछ

पीडाको त्यो क्षण
सुनेकै आधारमा म महसुस गर्नसक्छु,
जीवनको अन्तिम कठीन श्‍वास लिइरहँदा,
जाने नै भईस् त बूढी, लौ जा है भनी
जीवनसाथीले अलबिदा गर्दा,
तिम्रा मृत्योन्मुख आँखाहरू आँशुले भरिएथे रे

अहिले म वियोगको त्यही क्षण सम्झिरहेछु
म त्यहाँ थिईनँ, सधैं जस्तै,
भाग्य खोज्दै टाढा पुगेको बेला
तिम्रो वाक्य बसेछ ।

तिमी रोयौ,
शायद माया लाग्यो होला
थलिएर, गलेर अर्थहीन भएको जीवनको,
कि दया लाग्यो आफूजस्तै खस्नलागेको खसमको
अनि याद आयो अठ्ठासी बर्ष दिएको साथको
र छरिएका, हराएका सन्तानको

म त्यही आँशुको अर्थ खोजिरहेछु,
आउन सकिनँ समयमा, सधैं जस्तै,
मैले ज्ञान बाँडिरहेको, अथक बोलिरहेको बेला
तिम्रो वाक्य बसेछ ।


 [नेपालभूमि साप्ताहिकमा प्रकाशित]





No comments: