Friday, August 18, 2017

Facebook Fragments VIII


जग राम्रो भए, हुन्थ्यो थप्दा अर्को तलो
बनाऊ राम्रो भर्‍याङ्ग ऐले, होला त्यसले भलो
अोइलाउँदैछन् फूलहरू, विषै परे सरी
धारो देऊ सानो, भैगो ठूलो माछापोखरी

---
काम लाग्‍ने नै जूनि दिएछौ धर्तीमाता
धन्य छु,
अलिकति दु:ख पनि लागेको छ:
आफूले बाँच्न चाहेको पुस्ता नजन्मी
दुनियाँ छोड्नु पर्नेरहेछ


---
उसले सोध्यो:
तिमी मेरो आकाशमा अट्छौ कि अट्दैनौ?
ठाउँ पुगेन भने थोरै घट्छौ कि घट्दैनौ?
मैले भनेँ:
तिम्ले आफ्नो भन्या आकाश तिम्रो मात्रै होइन!
म पनि त त्यत्ति ठूलो आकारको छैन !


---
तिमी कक्षाकोठा नछोड्ने,
म प्रयोगशालाबाट ननिस्किने
अनि टुकुचामा आची बग्दैछ कि अमृत
हाम्लाई कहाँ थाहा हुन्छ त गुरू!

---
राजनीतिले देश र समाज चलाउँछ,
'पोल्टिक्स्' ले देश र समाजलाई धेरै चलाउँछ
अनि चल्नै नसक्ने बनाउँछ!

---
देखाई देखाई लगाएको गुन,
अरू कुनै जनावरले सम्झेला,
तर मान्छेले बिर्सिन्छ ।
त्यसैले वेकार छ खोज्‍नु
हिसाब-किताब, लेखा-जोखा
नदेखाई लगाएको गुनको ।


---
हिंड्दा हिंड्दै अनायसै पुगेँ सागर भेटन
थाहा पाएँ त्यो पानीले सक्दैन प्यास मेटन

---
किन किन
पाखे नै रहने भइयो,
समयसँग चल्न सकिएन,
जरा र फेद छिनाएर
पातमा गुँड बनाउने
रहर कहिल्यै आएन !

 
---
घाम तापेर बिताए पनि
कुरा काटेर बिताए पनि
दिन आखिर जान्छ-जान्छ
बूढो त एक दिन हुनु नै छ साथी
जागिर छोड्दा आउने रकम त छँदैछ
त्यसपछि पनि ज्यानले वृद्धभत्ता खान्छ खान्छ


---
पैरो जाने पहाड
बाढी पस्‍ने तराई
कुरौटे आफन्त
भरौटे पराई

यीबाट बस्‍नू
सकेसम्म पर
नत्र उठ्छ बास
न रहन्छ घर!

---
फेसबुक,
म तँलाई टुक्रा टुक्रामा कोरिरहन्छु,
तँ दिनको एक लाइक ठोकेर
दंग रहन्छस्।

---
अरुको रिस गर्दागर्दै
आफैँमा विष भर्दाभर्दै,
दिनमा एकचोटी कसैलाई नसरापे
रात नकट्ने हुनसक्छ
भात नपच्‍ने हुनसक्छ !

---
उमेरको आभाष त मनमा हुन्छ नि
ठिटौलेपन महसुस गर्न कपालले छेक्दैन
चित्त दुखे नि त्यो ठाउँको रङ्ग देखेर दुख्ला
जसलाई जति रङ्ग्याए नि कसैले देख्दैन

आफ्नो भागमा छोडिएको यही सेतो रङ्ग
अब मरिहत्ते गरे नि अर्को सर्दैन
कसैले अङ्कल भने नि के भो र
हजुरबा त भैसकियो, अब फरक पर्दैन

---
तिमीले नदिएको समय
तिमीले नगरेको काम
तिमीले नपाएको सफलता
तिमीले नकमाएको नाम
तिमीले नसम्झेको गुन
तिमीले नस्विकारेको गल्ती
तिमीले नकारेको आफन्त

यी सबैले,
तिमीले नचाहे पनि
बारम्बार घोचिरहन्छन्
तिमीलाई पोलिरहन्छन्

---
मन्त्रोच्चारण रोकियो अल्झिई उच-नीचमा
पूजा भयो कठै ठप्प पुजारीहरू बीचमा

---
कृष्णजीले जे गरे नि लिला भनिने
हाम्ले गरे उस्तै काम पाप जनिने?

---
आफैँले खटेर गर्दा बढ्छ काम निरन्तर
हेर्दा बाटो निठल्लाको हुन्छ जाम भयङ्कर

---
तँ होस् साँढे, म हुँ गोरु, हुनु जे थ्यो भयो
नियतिले हलो तान्छु, तेरो इज्जत गयो?

---
राम्रा दिन आउँछन्,
राम्रा मान्छेले नै ल्याउँछन्,
तिमी भनौला सदा झैँ "राम्रा मान्छे खोइ?"
म पनि सोधौँला, "तिमी आफू चैँ?"

---
तलबाट तान्दा तान्दा तन्किएर
दुखिरहने भएको छ पैतालो
माथिबाट थिच्दा थिच्दा
थिङ्थिलो भएको छ थाप्लो,
त्यसैले, साथी
पैतालो जमिनलाई
अनि थाप्लो आकाशलाई छाडी,
बिचको भागमात्र चलाएर
जिन्दगी काट्ने निधो गरेको छु

 
---
म ऊतिर जाने बाटोमा
काँडै-काँडा देख्छु,
अनि ऊतिर जान्नँ

म चाहन्छु,
ऊ नै मतिर आओस्
त्यही बाटो हिँडेर

कुरा के भने
उसँग मेरो
सम्झौता हुनैपर्छ
---
उसले गीत लेख्‍यो
गालाको कोठी हेरेर
संगीत मिलेन
स्वर मिलेन
नाच मिलेन
अनि
दोष कोठीले पायो


---
कतै कतै खुसियाली मनै रनघन
कतै भने खस्रो बोली भाँचिएको मन
दैव ! मन खोलिदेऊ, भन्देऊ बुझ्छु पिर
यत्तिले नि उठ्न सक्छ लत्रिएको शिर

No comments: