Wednesday, December 22, 2021

दूध-पार्टी

 कीर्तिपुरको डेरामा साँझको दाल-भात ठोकिसकेर तीनभाई सिरकमा गुट्मुटिएर गफ लडाउने बेलामा झल्यांस्स सम्झेर भनिहालेँ, “आजदेखि एककोरी र पाँच हानिएछ।”

“लौ मालदाइको ब्रम्हचर्याश्रम सकिएछ। अब हुनुपर्ने कुरा हुन्छ। तर अघाइसकेपछि चैँ कुरा खोल्दिने? हद हुन्छ, यार,” एउटा पार्टनरले हपार्यो।
“ठोस कुरा हाल्न पो पेट खाली छैन त, तरल त मिलिहाल्छ नि कँड,” अर्कोले कुरा सपार्यो।
“यत्ति राति तरल पदार्थ तुइँक्याउन पनि त गोजीमा ठोस पदार्थ हुनुपर्यो नि कँडहरू,” मैले प्रष्ट्याउन खोजेँ।
“सीताराम डेरीको गोरस पाइहालिन्छ नि नजिकको किराना पसलमा, टन्न ल्याउने हो, रातभरि चिया खाँदै बस्ने हो आज जाग्राम, माल्दाइको नाममा। त्यत्तिका लागि त पुगिहाल्छ नि हौ गोजीको ठोस पदार्थले,” पहिलो साथीले त निर्णय नै गरिहाल्यो।
कुरा मिल्यो। नयाँबजार गइयो। एकदर्जन पाकेट सीताराम गोरस ल्याएर प्रेसरकुकरमा खन्याइयो। भाँडामा हालेपछि सल्लाह भयो, घरभरिका अरू डेरावाल साथीहरू बोलाएर दूध-पार्टी नै गर्ने।
दूध उम्लेपछि एउटा साथी अरू डेरावालहरूलाई बोलाउन गयो। एकछिन पछि एक-एक वटा गिलास बोकेर अरू कोठाका केटाहरू हाम्रोमा छिरे (हेक्का रहोस्, त्यो घरमा त्यतिबेला घरबेटीका परिवारका सदस्यबाहेक स्त्री जातीको बसोबास थिएन)। बोलाउन गएको साथीले यसरी बोलाएछ, “साथी हो, एक-एक वटा गिलास बोकेर कारण नसोधीकन हाम्रो कोठामा आऊँ त। पछि जुठो गिलासचाहिँ आफ्नै कोठामा आएर पखाल्ने है।”
ख्याल-ख्यालमा एकदर्जनजति जम्मा भइहालियो। पुषको रातमा तात्तातो दूधसँग निकै जम्यो माहोल। ख्याल-ख्यालमा हल्ला-खल्ला पनि भइहाल्यो। झापाली, मोरङ्गेली, स्यांजाली र दंगालीहरूको जमघट न थियो त्यो। अलिकति ठूलो स्वरले गीत गाउँदा अथवा हाँस्दा त भुइँचालो महसुस गर्ने घरबेटीलाई त्यो रात त प्रलयले नै छोपेजस्तो भएको थियो होला। एकैछिनमा गोलगन्जी र अन्नरपेनमा झरिहाल्यो तल्लो तलामा, र गर्जियो, “के हो यो वाहियाट् राटभरि? हाम्ले सुट्न पर्डैन? उटा मैयाँको जाँच चलिरा’छ”!
“सरी, दाइ। यस्तो ठण्डीमा लुगा नलाई पो आउनु भएछ। अब हाम्रो कार्यक्रम सकियो। तपाईँ जानुस् है,” घरबेटीसँग सबैभन्दा बढी कुरा मिल्ने मेरो रूमपार्टनरले थुम्थुम्यायो। घरबेटी फर्कियो।
“बर्थडे मनाएको हो, तपाईँ पनि पिउनुस् भन्नु पर्दैन, मुला? सरी, जानुस् पो रे” मैले भनेँ।
“अयला पिएर ढलिसकेको मान्छेलाई केको दूधको प्रसाद नि गन्जी र कट्टुमा। बरू अलि-अलि थपेर आफैँ खाने हो।”
ठ्याक्क पच्चीस नाघ्दा पहिलोपटक मनाएको मेरो बर्थडे पार्टी यत्ती रमाईलो थियो कि हरेक वर्ष पुष ८ गते आउन लाग्दा त्यो रात र सीताराम दूधको सम्झना आउँछ।

No comments: