Sunday, July 10, 2022

हाम्रो आगत

एउटा पुस्ता थियो,

हामीभन्दा अघि थियो,

हामी उसको पछि-पछि थियौँ,

‘हाम्रो विगत थियो, र त वर्तमान छ’

उसले यही भनिरह्यो,

हामीले सुन्यौँ शायद लाखौँ पटक,

र विश्वास गर्‍यौँ उसैगरीः

‘हो विगत हुन्छ, र त वर्तमान हुन्छ’।

 

अरे... आगत पनि त थियो नि

हामी दुबै थरिको!

तर हामीले वेवास्ता गर्‍यौँ

वा उसलाई कहिल्यै सोधेनौँ;

उसले बुझेरै भनेन आफ्नो आगत

किनभने त्यसमा उसले आफूलाई देखेन,

उसले जानीजानी भनेन हाम्रो आगत

किनभने त्यसमा हामीलाई मात्र देख्यो।

 

अहिले हाम्रो वर्तमान सक्रिय छ

र आगतको चासो बढेको छ,

तर शायद उसबेलाको रटानको असरले

वा वेवास्ताबाट आर्जेको अल्पज्ञानले,

हामी झक्झक्याउन वाध्य छौँ

फेरि उही थला परिसकेको पुस्तालाई,

र बारम्बार सोध्दैछौँ उसैलाईः

‘के हो हाम्रो आगत?’

ऊ पनि बुझाउन खोज्दैछ मरितरीः

‘हाम्रो विगत थियो, र त वर्तमान थियो...!’

No comments: