Thursday, December 18, 2025

चोइटाहरू -- १२

कहिलेकाहीँ म
आफ्नो काम बिग्रिँदा
देशै बिग्रेको देख्छु।
---
धैर्यता टुटेको दिन
विश्वास टुटेको दिन,
केही कृतघ्न मनहरूसँग
विधिवत साथ छुटेको दिन,
तिमी अनायसै बुद्ध बन्नेछौ
---
एउटा सम्बन्ध बिग्रिंदा
एउटाभन्दा बढी काम बिग्रिन्छन्,
जसकारण अरू सम्बन्ध बिग्रिन्छन्,
जसकारण बिग्रेका कामको चाङ लाग्दै जान्छ,
अब पहिले सपार्ने के, सम्बन्ध कि काम?
सपार्ने कसले, बिगार्नेले कि भोग्नेले?
सपार्ने कसरी, झुकेर कि भुकेर?
सपार्ने कहिले, काम पर्दा कि मन लाग्दा?
---
किन हो खै थाहा छैन,
तर कहिलेकाहीँ त लाग्छ,
मैले बिझाएका र रिझाएका,
मलाई रिझाउने र बिझाउने,
सबैको एउटा जत्था बनाई
सगरमाथा चढ्न जाऊँ!
---
कस्तो अनौठो मान्छेको मन
अनौठै तन्तुले बन्दो रहेछ,
एकपटक त्यहाँ गढेको बचन
गढेरै बस्छु पो भन्दो रहेछ !
---
थाहा पाएर दु:खी वा खुसी हुनुको
अर्थ हुन्छ,
थाहै नपाई खुसी वा दु:खी हुनु
व्यर्थ हुन्छ,
व्यर्थमा दु:खी वा खुसी हुन खोज्दा
अनर्थ हुन्छ!

No comments: