बुबाको पुरानो सुइटर उधारेर
आमाले बुनिदिनुभएको गलबन्दी,
बजारबाट ऊनको धागो ल्याएर
दिदीले बुनिदिनुभएको कानेटोपी,
फुपुले मिसिनमा बुनेर दिनुभएको
नक्कली ऊनकै हाफ सुइटर
पोहोरको भाइटिकामा बहिनीले दिएको
यसपालिदेखि लाउन थालेको ढाकाटोपी,
काकाले मुग्लानबाट ल्याइदिनु भएको
फाटा कम्पनीको ज्याकेट,
यी सबै हुन्छन् मेरा लागि
जति पुराना उति नयाँ
जति नयाँ उति नै प्रिय
रूपले मात्र बन्दैन
उमेरले मात्र भन्दैन
मैले खोजेको नयाँपन,
रूपसँग गुण
गुणसँग अपनत्व
अपनत्वसँग आराम
आरामसँग टिकाउपन,
यी सबै भए हुँदैन बिरानो
उपहार चाहे होस् नयाँ
वा होस् पुरानो !
No comments:
Post a Comment