Thursday, August 22, 2019

महसुस


झुम्रे फुटबलमा
एक दर्जन गोल हान्दा,
भाले जुधाइमा
प्रतिद्वन्दीलाई ढाल्दा,
खोलामा बल्छी हान्दै
सिलभरि हिलेमाछा पार्दा,
हरेक पटक लाग्थ्यो
राजा भनेको मैजस्तो हुँदो हो
हिरो पनि मैजस्तो हुँदो हो

उसबेला
फुरूङ्ग तन-मन लिएर घर पुग्दा
हिलाम्मे धुलाम्मे
हातखुट्टा लिएर आँगन टेक्न नपाउँदै
कि पाइन्थ्यो बाको बाघे झापड
कि त आमाको चड्कन,
म मनमनै भन्थेँ
‘यी सुड्डासुड्डीलाई
मेरो क्षमताको कदर गर्न
पटक्कै आउँदैन’

हुर्कँदै जाँदा भिडभाडमा
हजार झापड खाएपछि समयको
लाख चडकन पाएपछि समाजको
अक्कल आयो मलाई
अहिले खुलमखुल्ला भन्न सक्छु
मेरो क्षमताको असली पहिचान
उसबेलै भएको रहेछ,
अहिलेसम्म म हरेक दिन
उसबेला राजा वा हिरो भएको
धङ्धङेमा बाँचिरहेको रहेछु !

No comments: