Saturday, July 25, 2020

ठूलो शहरभित्र


       
धुलो अटेको छ,
धुवाँ अटेको छ,
फोहोरको डङ्गुर अटेको छ,
अन्न फल्ने जमिनमा
इट्टै-इट्टाको थुप्रो अटेको छ

अटेका छन्
धुलाम्मे हिलाम्मे बाटाहरू,
तिनै बाटामा अटेका छन्
नयाँ पुराना गाडीहरू

त्यही डङ्गुरको आसपासमा,
त्यही इट्टाको जंगलभित्र,
तिनै बाटाहरूमा,
तिनै गाडीहरूमा,
अटेका छन्
हजारौँ लाखौँ मानिसहरू

सरकार अटेको छ
प्रतिपक्ष अटेको छ
सत्याग्रह अटेको छ
लोकतन्त्र अटेको छ
माफियातन्त्र अटेको छ

यस्ता धेरै कुरा अटेका छन्
यो ठूलो शहरभित्र,
खास त अटेका छन्
खाएर नअघाउने तनहरू
पाएर नरमाउने मनहरू !

No comments: