Saturday, July 25, 2020

Facebook Fragments XIII

आपद-विपद जंगलमा पनि पर्दो हो कहिलेकाहिँ
तर स्यालको पछि हात्ती लागेको भने थाहा भएन
घरपालुवालाई पनि सङ्कटले गाँज्दो हो यदाकदा
तर किर्नाको डरले गोरु भागेको भने थाहा भएन
---

खुलेको आकाशमा झिलमिलाउने तारा
नखुलेको आकाशका धमिलो बादलका धब्बा
त्यतैबाट तप्किने झरी र झम्टिने चट्याङ
झरीमा रुझेका रूख र बुट्यान
रूख-बुट्यानमा बास बस्ने पन्छी र किरा-फट्यांग्रा,
हमेशा भन्छन् मलाई --
हेर् मनुष्य, आफैँसँग डराइस् भने
हामीसँग पनि तँ सुरक्षित छैनस्,
सक्छस् भने बेलैमा बनाएर देखाइ दे बरू
मानसिक अतिक्रमण छेक्ने मुकुण्डो
बौद्धिक संक्रमण पखाल्ने झोल !
---
तिम्ले गर्वसाथ गर्न लागेको
झण्डोत्तोलनको‌ तुनो
अल्झिएको हुन सक्छ
तिम्रै सुरुवालको इँझारमा
तान्दा ख्याल गरेस् बाबै!
---
तिम्रो बारीको पलाँसमा
कसैले आँखा लगाइहाल्यो भने
गुलाबको बगैँचा ठड्याएर देखाइदेऊ

No comments: