Thursday, December 18, 2025

त्यो दृष्य

मौका मिलाई गई हेर्नू त्यहाँ
छोड्ने हरूको भिड लाग्छ जहाँ
संख्या जति हुन्छ गुड्ने हरूको
त्यो भन्दा बेसी छ उड्ने हरूको

डुब्यो देश भन्ने त्यही भिड भित्र
मिल्यो देश भन्ने पनि छन् विचित्र
न मान्छु म हर्क मिले स्वप्न सारा
न गर्छु म तर्क छुटे बन्धु प्यारा

न घट्छ ती उड्ने हरूको त्यो लर्को
न हट्छ दिलाशा सुनी लाग्ने झर्को
न रोकिन्छ कोही बुझी दिव्य ज्ञान
न झोंकिन्छ कोही सुझी राष्ट्र ध्यान

यही दृष्य देखेर रम्ने हरू छन्
यही ठीक सम्झेर गम्ने अरू छन्
कति अट्दा ठिक्क कसरी भनूँ म
नअट्नेको संख्या त झन् के गनूँ म

म भन्दिनँ बाटो सबको यही हो
म बन्दिनँ लाटो यही नै सही हो
अहो ! कस्तो दृष्टि कहाँसम्म जाला
के होला अनन्त रहे यस्तो चाला

No comments: