मेरो गाउँघर खण्डहर हुँदैथ्यो
मैले सुन्न सकेको थिइनँ,
तिम्रो सहर पनि खण्डहर हुँदैछ
म सुत्न सकेको छैन !
---
तीन दिन भयो निभेको छैन,
त्यो पुस्तकालयमा लगाइएको आगो,
लाग्छ पढ्दैछ आगोले पनि इतिहास नै
पन्ना-पन्ना, शब्द-शब्द, अक्षर-अक्षर!
---
कुनै कुनै भ्रमहरू
ओखती हुँदा रहेछन्,
तिनलाई नछरे पनि
उखेल्नु नहुने रहेछ!
---
उदेक लाग्छ,
तिमी सधैं मेरो इर्ष्या गर्छौ रे;
अनि दु:ख लाग्छ,
त्यहीकारण घरीघरी विरामी पर्छौ रे!
---
हिउँदको निर्णयले
बर्खामा नबग्नू,
बर्खाको निर्णयले
हिउँदमा नजम्नू!
No comments:
Post a Comment