Thursday, December 18, 2025

चोइटाहरू -- २

कसैको मनमा बस्तो छु
कसैको नजरबाट खस्तो छु
खोइ म कस्तो छु कस्तो छु
महंगो छु कि सस्तो छु!
---
सन्ठीको भर्‍याङ्
प्लास्टिकको भड्डु
र शत्रुको दौरा हेरेर बनाएको रणनीति
उस्तै उस्तै लाग्छन् मलाई !
----
विनिर्माण गरेर हेर
देश बनाउने सपनाहरूको,
सायद देखा पर्नेछन्
तिम्रा सबै नायक
र मेरा खलनायकहरू
---
मैले पौडी सिकेको छैन
गोताखोरी सिकेको छैन
केवल आँकलन गर्न सक्छु
भेलको ढंग हेरेर बहावको
दहको रङ्ग हेरेर गहिराइको
राहतको कुरासम्म त ठिकै छ
तर वेकार हुनेछ अपेक्षा
म जस्तोबाट उद्धारको
.....
गति बिग्रेको थाहा हुने,
मति बिग्रेको नहुने
यो साला उमेर!

No comments: