Thursday, December 18, 2025

चोइटाहरू-४


खुट्टाको बलमा शिर सारा कीर्ति कमाउने
हातले थापेर तक्मा छातिलाई थमाउने
स्वाभाविक सहकार्य सामाजिक नियम यो
थाप्लोको वीरगाथामा हात-खुट्टा रमाउने
---
हल्कारूपले फुत्केको शब्द
बन्न सक्छ कहिलेकाहीं
तौलिनै नमिल्ने सास्तीको जड
बुझ्नु पर्ने यत्ति हो
थुतुनोमा कुनै जाली हुँदैन
चोट नदिने गाली हुँदैन
---
मीठो हुन्छ महोदय
मकै र भटमास
भष्मे बारीको,
टुप्लुक्क पुग्नु चैं पर्छ ल
खाने बेलामा !
---
छुद्र बचनले पस्केर दिए
भर्भराउँदो मासुभात छोड्छ,
निरन्तर अनुग्रह दर्शाइरहे
उपकार गर्नेकै साथ छोड्छ,
आम मानिस चिन्न गाह्रो छैन महोदय
आत्मसम्मान महसुस गराइरहे,
कर्मका लागि दिनरात छोड्छ!
---
कुरौटेजनको यात्रा
स्वर्गको हो कि नर्कको?
स्वर्गै त कसरी मिल्ला,
के अर्थ अरू तर्कको !
 

No comments: