Sunday, July 10, 2022

हाम्रो आगत

एउटा पुस्ता थियो,

हामीभन्दा अघि थियो,

हामी उसको पछि-पछि थियौँ,

‘हाम्रो विगत थियो, र त वर्तमान छ’

उसले यही भनिरह्यो,

हामीले सुन्यौँ शायद लाखौँ पटक,

र विश्वास गर्‍यौँ उसैगरीः

‘हो विगत हुन्छ, र त वर्तमान हुन्छ’।

 

अरे... आगत पनि त थियो नि

हामी दुबै थरिको!

तर हामीले वेवास्ता गर्‍यौँ

वा उसलाई कहिल्यै सोधेनौँ;

उसले बुझेरै भनेन आफ्नो आगत

किनभने त्यसमा उसले आफूलाई देखेन,

उसले जानीजानी भनेन हाम्रो आगत

किनभने त्यसमा हामीलाई मात्र देख्यो।

 

अहिले हाम्रो वर्तमान सक्रिय छ

र आगतको चासो बढेको छ,

तर शायद उसबेलाको रटानको असरले

वा वेवास्ताबाट आर्जेको अल्पज्ञानले,

हामी झक्झक्याउन वाध्य छौँ

फेरि उही थला परिसकेको पुस्तालाई,

र बारम्बार सोध्दैछौँ उसैलाईः

‘के हो हाम्रो आगत?’

ऊ पनि बुझाउन खोज्दैछ मरितरीः

‘हाम्रो विगत थियो, र त वर्तमान थियो...!’

Sunday, June 19, 2022

Convergence!


There was not a time
Until yesterday,
When he didn't want to eliminate me
And I to trample him;
Until yesternight,
There was not a second
When we didn't curse each other's existence
And, today,
We stand at the same crossroads
Waiting for the arrival of a common idol,
Praying, panting, perspiring --
He for the cause of his own design,
I for the loyalty​ of my own definition.

Monday, April 11, 2022

यो पनि हो है

 

शर्त पूरा हुँदामात्र रम्ने जीवनसाथी
दुःखमा एक्ल्याउने सन्तान
संकटमा खेद्‌ने आफन्त‍‍‍‍
शोकमा हेप्ने छिमेकी
झोँकमा नचेप्ने साथीभाइ
अनिकालमा घर छोड्ने कुकुर-बिरालो;
यत्ति भोग्नु परे मर्त्यलोकमा
पछि रामराज्य मिलोस् या अधिराज्य
बैकुण्ठवास होस् कि स्वर्गवास
बौलाउँछ मान्छे पटक पटक!

Monday, March 14, 2022

You mean poetry?

 

You mean poetry?
Not worth a penny
Not worth a morsel
A waste of time!
Did you try to
Read this as a poem?
Never did I mean
Nor did I like
To compose one;
For it's waste of energy
Waste of emotions!

म को कुरा

 

समर्पण भन्दै
सम्झौता भन्दै
भिडमा हिँडिरहेको म
कुनै दिन अचानक
भिड छोडेर
अघि बढिदिन्छ एक्लै
पाउँदैन थाहापत्तो
धेरै महरूको
त्यो भिडले
कुन म
किन र कसरी
अघि बढ्दैछ
पछाडि लत्रिंदैछ !

Friday, February 18, 2022

देशभक्ति


हावामा पोखिइरहने देशभक्तिलाई
हावाबाटै सलाम ठोकेर
आफ्नो अतृप्त देशप्रेम
हावामै पोखिरहने
हे वन्धु-वान्धव हो,
जति रुनु-कराउनु
हाँस्नु-हँसाउनु थियो,
यही माटोको
एउटा टुक्रा टेकेर
गरिदिएको भए,
म पनि टिप्ने थिएँ
दुई-चार ती
तिम्रा इमोशनका थोपाहरू,
जो माटो सुँघ्न नपाई
बिलाइरहेछन् हावामै,

कठै ! 

Monday, January 24, 2022

दलगत सोच

 

कक्षामा पढाइरहँदा शिक्षकमा
कापी जाँच गरिरहँदा परीक्षकमा
गाडी कुदाइरहँदा चालकमा
विमान उडाइरहँदा पाइलटमा
अपरेशन गरिरहँदा डाक्टरमा
बच्चालाई दूध चुसाइरहँदा आमामा
भाइटीका लगाइरहँदा चेली र माइतीमा
कुनै दलगत सोच (हुनु) हुँदैन ।

काट्दिनँ, साट्दिनँ


पानीको श्रोत भेटिउञ्जेल,
बोक्ने भाँडो पाउञ्जेल,
पानी बोक्न सकुञ्जेल,
हालिन्छ पानी निरन्तर,
सुक्न दिइन्न बिजोकले,
आफूले रोपेको बिरूवा
मलाई फल नदिए के भो
अरूलाई छहारी त देला
मलाई मेहेनत गर्नुछ त गर्दैछु
तिम्ले भन्दैमा काट्दिनँ महोदय
खरानीसँग त साट्दिनँ महोदय 

Friday, January 21, 2022

लौ न हजुर

शान्तिको सम्भावनामा

मनमा अशान्ति हुन्छ?

चित्त काटिन्छ?

भोक, निद्रा, गन्ध, स्वाद हराउँछ?

वाकवाकी र रिंगटा चल्छ?

ज्वरो बढ्ने, टाउको दुख्ने हुन्छ?

आफन्तलाई चिथोरू, कोतरूँ, निलूँझैँ लाग्छ?

छिमेकीको इनारमा मलमूत्र हालिदिऊँ

छानुमा अगुल्टो फालिदिऊँ

अनि बालीमा गाई भैँसी छाडिदिऊँ हुन्छ?

शायद थाहा थिएन होला

यस रोगको उपचार,

स्वयम् शान्तिदूत भगवानलाई,

लौ न हजूर फसाद भो

हाम्ले काँबाट खोजी ल्याउने होला!

 

Wednesday, December 22, 2021

दूध-पार्टी

 कीर्तिपुरको डेरामा साँझको दाल-भात ठोकिसकेर तीनभाई सिरकमा गुट्मुटिएर गफ लडाउने बेलामा झल्यांस्स सम्झेर भनिहालेँ, “आजदेखि एककोरी र पाँच हानिएछ।”

“लौ मालदाइको ब्रम्हचर्याश्रम सकिएछ। अब हुनुपर्ने कुरा हुन्छ। तर अघाइसकेपछि चैँ कुरा खोल्दिने? हद हुन्छ, यार,” एउटा पार्टनरले हपार्यो।
“ठोस कुरा हाल्न पो पेट खाली छैन त, तरल त मिलिहाल्छ नि कँड,” अर्कोले कुरा सपार्यो।
“यत्ति राति तरल पदार्थ तुइँक्याउन पनि त गोजीमा ठोस पदार्थ हुनुपर्यो नि कँडहरू,” मैले प्रष्ट्याउन खोजेँ।
“सीताराम डेरीको गोरस पाइहालिन्छ नि नजिकको किराना पसलमा, टन्न ल्याउने हो, रातभरि चिया खाँदै बस्ने हो आज जाग्राम, माल्दाइको नाममा। त्यत्तिका लागि त पुगिहाल्छ नि हौ गोजीको ठोस पदार्थले,” पहिलो साथीले त निर्णय नै गरिहाल्यो।
कुरा मिल्यो। नयाँबजार गइयो। एकदर्जन पाकेट सीताराम गोरस ल्याएर प्रेसरकुकरमा खन्याइयो। भाँडामा हालेपछि सल्लाह भयो, घरभरिका अरू डेरावाल साथीहरू बोलाएर दूध-पार्टी नै गर्ने।
दूध उम्लेपछि एउटा साथी अरू डेरावालहरूलाई बोलाउन गयो। एकछिन पछि एक-एक वटा गिलास बोकेर अरू कोठाका केटाहरू हाम्रोमा छिरे (हेक्का रहोस्, त्यो घरमा त्यतिबेला घरबेटीका परिवारका सदस्यबाहेक स्त्री जातीको बसोबास थिएन)। बोलाउन गएको साथीले यसरी बोलाएछ, “साथी हो, एक-एक वटा गिलास बोकेर कारण नसोधीकन हाम्रो कोठामा आऊँ त। पछि जुठो गिलासचाहिँ आफ्नै कोठामा आएर पखाल्ने है।”
ख्याल-ख्यालमा एकदर्जनजति जम्मा भइहालियो। पुषको रातमा तात्तातो दूधसँग निकै जम्यो माहोल। ख्याल-ख्यालमा हल्ला-खल्ला पनि भइहाल्यो। झापाली, मोरङ्गेली, स्यांजाली र दंगालीहरूको जमघट न थियो त्यो। अलिकति ठूलो स्वरले गीत गाउँदा अथवा हाँस्दा त भुइँचालो महसुस गर्ने घरबेटीलाई त्यो रात त प्रलयले नै छोपेजस्तो भएको थियो होला। एकैछिनमा गोलगन्जी र अन्नरपेनमा झरिहाल्यो तल्लो तलामा, र गर्जियो, “के हो यो वाहियाट् राटभरि? हाम्ले सुट्न पर्डैन? उटा मैयाँको जाँच चलिरा’छ”!
“सरी, दाइ। यस्तो ठण्डीमा लुगा नलाई पो आउनु भएछ। अब हाम्रो कार्यक्रम सकियो। तपाईँ जानुस् है,” घरबेटीसँग सबैभन्दा बढी कुरा मिल्ने मेरो रूमपार्टनरले थुम्थुम्यायो। घरबेटी फर्कियो।
“बर्थडे मनाएको हो, तपाईँ पनि पिउनुस् भन्नु पर्दैन, मुला? सरी, जानुस् पो रे” मैले भनेँ।
“अयला पिएर ढलिसकेको मान्छेलाई केको दूधको प्रसाद नि गन्जी र कट्टुमा। बरू अलि-अलि थपेर आफैँ खाने हो।”
ठ्याक्क पच्चीस नाघ्दा पहिलोपटक मनाएको मेरो बर्थडे पार्टी यत्ती रमाईलो थियो कि हरेक वर्ष पुष ८ गते आउन लाग्दा त्यो रात र सीताराम दूधको सम्झना आउँछ।